काठमाडौं। अन्तत: बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अपराजित यात्रा टुंग्याएको छ।
शनिबार राति भएको खेलमा ओसासुनासँग बार्सिलोना ४–२ ले पराजित भएको हो। योसँगै बार्सिलोनाले आठ खेलमा गएर आफ्नो अपराजित यात्रा टुंगाएको हो।
शीर्ष स्थानको बार्सिलोनाको २१ अंक रहँदा एक खेल कम खेलेको रियल मड्रिड चार अंकले पछि परेको छ। छैटौं स्थानमा उक्लिएको ओसासुनाको भने आठ खेलबाट १४ अंक छ।
१८औं मिनेटमै ओसासुनाले एन्टे बुडिमिरको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। उनले ब्रायन जरागोजाको क्रसमा गोल गरेका हुन्। त्यसको १० मिनेटपछि ब्रायनले नै अग्रता दोब्बर बनाए। ५३औं मिनेटमा पाउ भिक्टरले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए।
तर, ७२औं मिनेटमा बुडिमिरले गोल गर्दै ओसासुनाको अग्रता ३–१ मा पुर्याए। निर्धारित खेल सकिन एक मिनेट बाँकी रहँदा लाइम यमलले गोल गरेपनि बार्सिलोनाको हार टार्न सकेनन्।