काठमाडौं। भुटानी प्रशिक्षक पुष्षलाल शर्माले नेपालको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्न दर्खास्त हालेका छन्। राष्ट्रिय फुटबल टोलीको रिक्त मुख्य प्रशिक्षकमा नेपाली फुटबललाई नजिकबाट नियालिसकेका अष्ट्रेलियन प्रशिक्षक इयान एन्ड्रयु गिलानले पनि दर्खास्त हालेका छन्।
एन्फाले गत सेप्टेम्बर १६ मा सूचना जारी गर्दै राष्ट्रिय पुरुष सिनियर टोलीको मुख्य प्रशिक्षकमा खुला दर्तास्त आह्वान गरेको थियो । एन्फाले ५–१० वर्षको अनुभव प्राप्त प्रो–लाइसेन्स प्राप्त ब्यक्तिले दर्खास्त दिन सक्ने जनाएको थियो।
भुटानमा जन्मिएका शर्मासँग एएफसी प्रो–लाइसेन्स प्रशिक्षक हुन्। शर्माले सन् २०१९ मा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा भुटानलाई फाइनलसम्म पुर्याएका थिए। त्यतिखेर उनी सहायक प्रशिक्षक थिए।
उक्त प्रतियोगितामा नेपाल सिंगल राउन्ड रोबिनमा शीर्ष स्थान र भुटान दोस्रो स्थानमा रहँदै फाइनल पुगेका थिए। तर, भुटान फाइनलमा घरेलु टोली नेपालसँग २-१ ले पराजित भएको थियो।
शर्मा पछिल्लो समय भुटानको घरेलु क्लब पारो एफसी हेर्दै आएका छन्। पारोले एएफसी च्यालेन्ज लिगको प्ररम्भिक चरणमा नेपालको ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-१ ले पराजित गरेको थियो।