काठमाडौं। कोल पाल्मर एक्लैले चार गोल गरेपछि चेल्सीले इङ्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियनसँगको अंक दूरी एकमा छोट्टाएको छ।
स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो। जितसँगै ६ खेलबाट चेल्सीले १३ अंक पुर्याएको छ। जुन शीर्ष स्थानमा रहेको सिटीको भन्दा एक अंक कम हो।
समान खेलबाट ९ अंक जोडेको ब्राइटन भने आठौं स्थानमा छ। जर्जिनियो रुटरको गोलमार्फत ब्राइटनले सातौं मिनेटमै सुरुआती अग्रता लिएको थियो। तर, पाल्मर चम्किएपछि चेल्सी त्यसको १४औं मिनेटमा पुनरागमन गर्न सफल भयो।
पाल्मरले २१, २८ र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। ३४औं मिनेटमा कार्लोस बालेबाले गोल गर्दै ब्राइटनलाई ३-२ को स्थितिमा ल्याएका थिए। तर, ४१औं मिनेटमा पाल्मरले अर्को गोल थप्दै चेल्सीलाई ४-२ को सहज जित दिलाए।