काठमाडौं। इङ्लिस प्रिमियर लिगफुटबलअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई न्युक्यासलले १–१ को बराबरीमा रोकेको छ। सिटीले लिगमा लगातार दोस्रो पटक अंक बाँडेको हो।
उपाधि रक्षाका लागि पहिलो चार खेल जितेको सिटीले गत आइतबार आर्सनलसँग २–२ गोलको बराबरी खेलेको थियो । सिटीका दुई ठूला उपाधि प्रतिद्वन्द्वी आर्सनल र लिभरपुलले शनिबार क्रमशः लेस्टर र वोल्भरह्याम्पटनसँग खेलिरहेको छ।
प्रभावशाली मिडफिल्डर रोड्री एसिएलको चोटका कारण बाहिरिएपछि सिटीको यो पहिलो लिग म्याच थियो। तर, डिफेन्डिङ च्याम्पियनले सेन्ट जेम्स पार्कमा राम्रो प्रदर्शन गर्न सकेन।
३५ औं मिनेटमा जोस्को ग्वार्डिओलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर, ५८औं मिनेटमा एन्थोनी गोर्डनले न्युक्यासलका लागि पेनाल्टीमार्फत गोल गर्दै सिटीको अंक खोसे।