पथरी। टाइब्रेकरमा संकटा क्लबलाई पराजित गर्दै ललितपुरे टोली ब्रिगेड ब्वाइज क्लबले प्रथम पथरीशनिश्चरे गोल्डकप जितेको छ।
वर्षा बाधक बनेपछि ४० मिनेटको समय खोट्याएर फाइनल खेलाइएको थियो। तर, हिलो मैदानमा कुनै उत्कृष्ट मुभ भने बन्न सकेन।निर्धारित समयमा कुनै गोल नभएपछि विजेताको छिनोफानो टाइब्रेकरमार्फत गरिएको थियो।
जहाँ ब्रिगेड भाग्यमानी बन्दै उपाधि जित्न पुग्यो। टाइब्रेकरमा ब्रिगेडले संकटालाई ५–३ गोल अन्तरले पन्छाएको हो। उसले खेलेका तीनवटै खेल जित्न टाइब्रेकरकै सहारा लिनु पर्यो।
उपाधिसहित ब्रिगेडले तीन लाख र ट्रफी जित्दा संकटाले दुई लाख रुपैयाँमा चित्त बुझाउन पुग्यो। टाइब्रेकरमा ब्रिगेडका असीम गुरुङ,एन्जल महर्जन, दीवाकर चौधरी, एक्सन लिम्बु र पदम भट्टराईले गोल गरे। संकटाका पुष्कर खडका, युवराज ढकाल र विदेशी खेलाडी किङ्ग्सले गोल गर्दा अनीश परियारको प्रहार ब्रिगेडका गोलकिपर रुविन बोगटीले बचाए।
प्रतियोगिताको विधागत रूपमा पनि ब्रिगेडका खेलाडीको वर्चश्व रह्यो। उत्कृष्ट गोलकिपर रुविन बोगटी, उत्कृष्ट डिफेन्डर दीवाकर चौधरी, सर्वोकृष्ट खेलाडी कप्तान एन्जल महर्जन र उत्कृष्ट प्रशिक्षक सुवित कार्की घोषित भए।
उत्कृष्ट मिडफिल्डर संकटाका विवेक आलेमगर भए। सर्वाधिक गोलकर्ता झापा ११ का प्रदीप बुढाथोकी र उदयमान खेलाडी पथरी ११ का न्युचन धिमाल घोषित भए।
पथरी ११ फुटबल क्लबको आयोजनामा असोज ५ बाट सुरु भएको प्रतियोगितामा भारतको एकसहित आठ टिमको सहभागिता थियो।