काठमाडौं। फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजलाई अक्टोबरमा हुने दक्षिण अमेरिकी विश्वकप छनोटका दुई खेलमा प्रतिबन्ध लगाएको छ। अर्जेन्टिना फुटबल संघ (एएफए) ले शुक्रबार उक्त जानकारी दिएको हो।
यो निर्णयले अक्टोबर १० र १५ मा भेनेजुएला र बोलिभियाविरुद्ध हुने राउन्ड रोबिन प्रतियोगिताको आधिकारिक खेलबाट ३२ वर्षीय मार्टिनेज बञ्चित हुनेछन्।
फिफाको अनुशासन आयोगले यसै महिनाको सुरुमा चिली र कोलम्बियाविरुद्धको विश्वकप छनोटका दुई खेलमा भएको घटनाका कारण मार्टिनेजलाई प्रतिबन्ध लगाएको एएफएले जनाएको छ । फुटबल निकायले कुन घटनाका कारण सजाय दिएको हो भन्ने केही बताएको छैन ।
सन् २०२२ को अन्त्यमा कतारमा भएको विश्वकपको उपाधि उचालेपछि मार्टिनेजले कोपा अमेरिकाको ट्रफी आफ्नो गुप्तांगनजिक समाते उत्सब बनाएका थिए। कोपा अमेरिकाको फाइनलमा चिलीविरुद्ध ३–० को जित हात पारेपछि पनि उनले अश्लील हाउभाउ देखाएका थिए ।
त्यसपछि अर्जेन्टिनाले कोलम्बियासँग २–१ को हार बेहोरेपछि उनले स्थानीय क्यामेराम्यानलाई थप्पड हानेका थिए । अर्जेन्टिनाको फुटबल निकायले फिफाको निर्णयप्रति पूर्णरुपमा असहमत रहेको जनाएको छ ।
अर्जेन्टिना आठ खेलबाट १८ अंकका साथ दक्षिण अमेरिकी विश्वकप छनोटको शीर्ष स्थानमा छ भने कोलम्बिया (१६) र उरुग्वे (१५ अंक) दोस्रो स्थानमा छन् ।