काठमाडौं। लगातारको खराब नतिजापछि दबाबमा परेको ब्राजिलको राष्ट्रिय टोलीले आगामी अक्टोबरमा हुने विश्वकप छनोटका दुई खेलमा रियल मड्रिडका फरवार्डलाई मैदानमा उतार्ने सम्भावना छ।
प्रशिक्षक डोरिभल जुनियरले शुक्रबार घोषणा गरेको टोलीमा सात जना फरवार्ड समावेश गरेका छन्। उक्त सात जनामा रियलका भिनिसियस जुनियर, रोड्रिगो र एन्ड्रिक पनि छन्। अक्टोबर १० मा चिलीविरुद्ध र त्यसको पाँच दिनपछि पेरुविरुद्ध ब्राजिलले घरेलु मैदानमा आक्रमण सुरु गर्ने अपेक्षा गरिएको छ।
भेट्रान फरवार्ड नेइमार अहिले पनि ब्राजिलको टोलीबाट बाहिरिएका छन्। एसिएलको चोटका कारण उनी गत वर्ष टोलीबाट बाहिरिएका थिए। उनी अक्टोबरमा पुनरागमन गर्ने अपेक्षा गरिएको थियो।
दक्षिण अमेरिकी छनोटमा ब्राजिलको आठ खेलपछि पाँचौँ स्थानमा छ। चिली र पेरु १० टिमको राउन्ड रोबिन प्रतियोगितामा पुछारमा रहेका दुई टोली हुन्।
यसै महिनाको सुरुमा ब्राजिलले इक्वेडरलाई १–० ले हराएको थियो भने पाराग्वेसँग १–० ले पराजित भएको थियो। गत जुलाईमा कोपा अमेरिकाको क्वार्टरफाइनलमा उरुग्वेसँग पराजित भएपछि ब्राजिलको प्रशिक्षकको जिम्मेवारी सम्हालेका डोरिभल दबाबमा छन्।
टोली:
गोलकिपर : एलिसन (लिभरपुल), बेन्टो (अल नासर), एडरसन (म्यानचेस्टर सिटी)
डिफेन्डरः डानिलो (युभेन्ट्स), भेन्डरसन (मोनाको), अबनेर (लियोन), गुइलेर्मे अराना (एट्लेटिको मिनिरो), ब्रेमर (युभेन्टस), एडर मिलिटाओ (रियल मड्रिड), ग्याब्रियल म्यागाल्हेस (आर्सनल), मार्क्विनहोस (पेरिस सेन्ट जर्मेन)
मिडफिल्डरः आन्द्रे (वोल्भरह्याम्पटन), ब्रुनो गुइमारेस (न्युक्यासल), गेर्सन (फ्लामेन्गो), लुकास पाक्वेटा (वेस्ट ह्याम)
फरवार्डः रोड्रिगो (रियल मड्रिड), एन्ड्रिक (रियल मड्रिड), भिनिसियस जुनियर (रियल मड्रिड), लुइज हेनरिक (बोटाफोगो), इगोर जिसस (बोटाफोगो), साविन्हो (म्यानचेस्टर सिटी), ग्याब्रियल मार्टिनेली (आर्सनल), राफिन्हा (बार्सिलोना)