काठमाडौं। चोटका कारण सिपिएलको अन्तिम सिजनअघि नै ड्वेन ब्राभोले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
ब्राभो अर्को महिना ४१ वर्ष पुग्दैछन्। ट्वान्टी–२० फर्म्याटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी उनी नै हुन्। उनले सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदा लिएका थिए। गत वर्ष पनि आफूलाई खेलाडीका रूपमा आइपिएलबाट टाढा राखेका थिए। यसैबीच, उनी चेन्नई सुपर किंग्स र अफगानिस्तान पुरुष टोलीमा प्रशिक्षकको भूमिकामा देखिएका थिए।
ब्राभोले इन्स्टाग्राममा पोस्टमा भने, ‘मेरो दिमाग अझै धेरै क्रिकेट खेल्न चाहन्छ तर मेरो शरीरले यसलाई अनुमति दिइरहेको छैन। त्यसैले भारी मनका साथ यस खेलबाट सन्यासको घोषणा गर्छु।’
आफ्नो १८ वर्षको करियरमा ब्राभोले ट्वान्टी–२० क्रिकेटमा धेरै कीर्तिमान बनाए। उनी आईपीएल, पीएसएल र बिग ब्यासमा ट्रफी जित्ने टोलीको हिस्सा थिए। यससँगै उनी दुई पटक ट्वान्टी–२० विश्वकप जित्ने वेस्ट इन्डिजको टोलीमा पनि थिए। उनले ट्वान्टी–२० क्रिकेटमा ५८२ खेल खेल्दै ६३१ विकेट लिएका छन्।
ब्राभोले सीपीएलको यो सिजन आफ्नो अन्तिम हुने घोषणा गरेका थिए। यद्यपि, उनले आईएलटी २० को आगामी सिजन खेल्ने तालिका थियो र एमआई इमिरेट्सले पनि राखेको थियो. उनले सीपीएलको समयमा ग्रोइनमा चोट लागेपछि क्रिकेटबाट सन्यास लिने निर्णय गरेका हुन्।
ब्राभोले सीपीएलमा पाँच उपाधि जितेका थिए। जसमध्ये तीन त्रिनबागो नाइट राइडर्सका लागि जितेका थिए।