काठमाडौं। लर्ड्सको मैदानमा टस जित्नु आजकल एक लाभदायक बनिरहेको छ। रेकर्ड बुक हेर्ने हो भने यहाँ खेलेका पछिल्ला ९ एकदिवसीय खेलमा पहिला जुन टिमले पहिले ब्याटिङ गर्छ, त्यो जितमा सफल हुन्छ।
शुक्रबार साँझ इङ्ल्यान्डको टोलीले पनि अस्ट्रेलियामाथि यस्तै तरिकाले ठूलो जित हात पारेको थियो। इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजको चौथो खेलमा १८६ रनको जित निकालेको हो।
ह्यारी ब्रुकको ८७ रन र लियाम लिभिङस्टोनको ६२ रनको मद्दतमा इङ्ल्यान्डले वर्षाले प्रभावित खेलमा ३१२ रन बनाएको थियो। तर, ३१३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १२६ रनमा अलआउट भयो।
इङ्ल्यान्डले १०औं ओभरमा ओपनर फिलिप साल्ट (२२) को विकेट गुमायो। विल ज्याकले पनि १० रन मात्रै बनाउन सके। तर, त्यसपछि बेन डन्केट र कप्तान ह्यारी ब्रुकले १५० रनको स्कोर पार गरे। डन्केटले ६२ बलमा ६ चौका र १ छक्काको मद्दतमा ६३ रन बनाए। ब्रुकले ५८ बलमा ११ चौका र १ छक्काको मद्दतमा ८७ रन बना।
जेमी स्मिथले २८ बलमा ३९ रन बनाए। त्यसपछि मध्यक्रमका लियाम लिभिङस्टोन र बेथलले ५ विकेटको क्षतिमा ३१२ रनको योगफल तयार पारेका थिए। लियामले २७ बलमा ३ चौका र ७ छक्काको मद्दतमा ६२ रन बनाए। अस्ट्रेलियाका एडम जाम्पाले दुई विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले राम्रो सुरुआत गरेको थियो। कप्तान मिचेल मार्श र ट्रेभिस हेडले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरे। ट्राभिसले २३ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३४ रन बनाए। तर, त्यसपछि स्टिभ स्मिथले ५, जोस इङ्गलिसले ८, मार्नस लाबुचाग्नेले ४ रन बनाए। कप्तान मार्शले ३४ बलमा २८ रनको योगदान दिए।
अस्ट्रेलियाको मध्यक्रम नराम्ररी धराशायी भयो। एलेक्स क्यारीले १३, ग्लेन म्याक्सवेलले २, सन एबोटले १०, मिचेल स्टार्कले ३, एडम जाम्पाले ० र हेजलवुडले ० रन बनाउन सकेनन्। इङ्ल्यान्डका म्याथ्यु पोट्सले ३८ रन खर्चेर ४, जोफ्रा आर्चरले ३३ रन दिएर २ र ब्रायडन कार्सले ३६ रन खर्चेर ३ विकेट लिए।