काठमाडौं । अष्ट्रेलियन प्रशिक्षक इयान एन्ड्रयु गिलानले नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बन्न दर्खास्त हालेका छन् ।
राष्ट्रिय फुटबल टिमको रिक्त मुख्य प्रशिक्षकमा गिलानले दर्खास्त हालेका हुन् ।
एन्फाले गत सेप्टेम्बर १६ मा सूचना जारी गर्दै राष्ट्रिय पुरुष सिनियर टिमको मुख्य प्रशिक्षकमा खुल्ला दर्तास्त आह्वान गरेको थियो । एन्फाले ५–१० वर्षको अनुभव प्राप्त प्रो लाइसेन्स प्राप्त ब्यक्तिले दर्खास्त दिन सक्ने जनाएको थियो ।
स्कटल्याण्डमा जन्मिएका अष्ट्रेलियन प्रशिक्षक गिलान यूईएफएका प्रो लाईसेन्स कोच हुन् । गिलानको अष्ट्रेलिया, स्कटल्याण्ड सहित एसियाली फुटबलमा मुख्य प्रशिक्षक र टेक्निकल डाइरेक्टरका रुपमा काम गरेका अनुभव छ ।
गिलानलाई गत वर्ष फ्रेन्चाईज क्लब ललितपुर सिटी एफसीले नेपाल सुपर लिगमा मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको थियो । गिलानकै नेतृत्वमा ललितपुर सिटी एफसीले दोस्रो सिजनको नेपाल सुपर लिग एनएसएलको उपाधि उचालेको थियो ।