एजेन्सी । लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले कीर्तिमानी जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले गुईनग्याम्पलाई कीर्तिमानी गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा केलियन एम्बाप्पे र ईडिन्सन काभानीले ह्याट्रिक पुरा गरे । दुई गोल नेयमारको नाममा रह्यो । अर्को एक गोल थोमस मुनिरले गरे ।
गत सिजन पीएसजीले डिजोनलाई ८–० गोल अन्तरले पराजित गरेको थियो ।
जितसंगै पीएसजीले फ्रेन्च कपमा ब्यहोरेको हारको बदला समेत लिएको छ ।
दश दिन अगाडी भएको खेलमा गुईनग्याम्पसंग २–१ ले पराजित हुँदै पीएसजी फ्रेन्चबाट बाहिरिएको थियो । तर घरेलु मैदानमा भएको खेलमा कीर्तिमानी अन्तरले पराजित गर्दै पीएसजीले हारको बदला लिन सफल भएको छ ।
खेलको ११ औ मिनेटमा नेयमारको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ३७ र ४५ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए ।
काभानीले ५९, ६६ र ७५ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ६८ औ मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल थपे । ८० औ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पुरा गरे । मुनिरले ८३ औ मिनेटमा गोल गर्दै टोलीलाई कीर्तिमानी जित दिलाए ।
शीर्ष स्थानको पीएसजीले १९ खेलबाट ५३ अंक जोडेको छ । दोस्रो स्थानको लिली भन्दा पीएसजी १३ अंकले अगाडी छ । पराजित गुईनग्याम्प १४ अंक सहित तालिकाको पुछारमा छ ।