काठमाडौं। बार्सिलोनाले ला लिगामा लगातार सात जितका साथ सुखद सुरुआत गरेको छ। तर, प्रशिक्षक हान्सी फ्लिकले गेटाफेमाथि बुधबार भएको १–० को जितपछि अझै सुधारको आवश्यक रहेको बताएका छन्।
रोबर्ट लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो। लगभग ८० प्रतिशत बल पोजिसन र १६ पल्ट गोलको प्रयास गरेपनि बार्सिलोना सफल हुन सकेन। जबकि गेटाफेले अन्तिम क्षणहरूमा काउन्टर अट्याकबाट लगभग बराबरी गोल गरेका थिए।
लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २१ अंक छ। यो अंक दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा चारले बढी हो।
‘सात जित हासिल गर्नु एकदमै राम्रो हो। तर, हामीले केही चीजहरू अझ राम्रो गर्नुपर्नेछ। आज हाम्रो मानसिकता निकै राम्रो थियो। मेरो लागि यो सुधारको राम्रो सुरुआत बिन्दु हो,’ फ्लिकले भने।