काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल)को आगामी सिजनलाई लिएर चर्चा सुरु भएको छ। आइपिएलको मेगा अक्सन डिसेम्बरमा हुँदैछ।
बिसिसिआईले रिटेन्सन नियममा परिवर्तनलाई अनुमोदन गर्याे भने पाँच पटकको आइपिएल विजेता मुम्बई इन्डियन्सका लागि समस्या बढ्न सक्छ। बीसीसीआईसँग प्रत्येक फ्रेन्चाइजका लागि ५–५ जना खेलाडीलाई रिटेन गर्नुपर्ने नियम बनाउने अधिकार छ।
यदि बिसिसिआईले नयाँ नियम लागू गरेमा भारतका तीन खेलाडीलाई रिटेन गर्ने नियमले रोहित शर्मा, हार्दिक पाण्ड्या, जसप्रित बुमराह र सूर्यकुमार यादवमध्ये कोही एकलाई रिलिज गर्नुपर्ने हुनसक्छ। यी चार खेलाडीलाई मुम्बईको खम्बा मानिन्छ।
हार्दिक मुम्बईमा फर्किएका छन्। रोहितको स्थानमा उनलाई कप्तान पनि बनाइएको थियो। केही दिनअघि सूर्यकुमारले मुम्बई छोड्ने तयारी गरेको खबर आएको थियो।
मुम्बई छोडेर सूर्यकुमार कोलकाता नाइट राइडर्समा आबद्ध हुन सक्छन्। केही दिनअघि कोलकाताले सूर्यकुमारलाई कप्तान बनाएर टोलीमा समावेश गर्ने प्रस्ताव राखेको खबर आएको थियो। तर, पछिल्लो सेसनमा श्रेयस अय्यरको कप्तानीमा कोलकाताले आइपिएलको उपाधि जितेको थियो।
श्रेयसको स्थानमा सूर्यकुमारलाई कप्तान बनाउने हो भने समर्थकलाई ठूलो झट्का लाग्नेछ। यसको आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन। सूर्यकुमार टी-२० फर्म्याटमा भारतीय टोलीको कप्तान हुन्। वर्षौंदेखि उनले लगातार आफ्नो कुशल ब्याटिङ र फिल्डिङको माध्यमबाट प्रशंसकहरूको मन जितेका छन्।