काठमाडौं। रियल मड्रिडका फरवार्ड केलियन एमबाप्पे घाइते भएका छन्। उनको मांसपेशीमा चोट लागेको बताइएको छ। त्यसैले एट्लेटिको मड्रिडविरुद्धको खेलमा फ्रान्सेली खेलाडीको सहभागितामा शंका व्यक्त गरेको छ।
यसै वर्ष पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट अनुबन्धित भएका एमबाप्पेले यो सिजन रियलका लागि सबै प्रतियोगितामा नौ खेलमा सात गोल गरेका छन्।
मंगलबार ला लिगामा भएको खेलमा डेपोर्टिभो अलाभेसमाथि ३–२ को जित निकाल्दा उनी ८०औं मिनेटमा मैदानबाट बाहिरिएका छन्।
'रियल मड्रिडको मेडिकल सर्भिसेसले हाम्रा खेलाडी किलियन एमबाप्पेको परीक्षण गरेपछि उनको बायाँ खुट्टामा बाइसेप्स फेमोरिसमा चोट लागेको पुष्टि भएको छ,' रियलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
एम्बाप्पे एट्लेटिकोविरुद्धको खेलबाट बाहिरिने स्पेनी सञ्चारमाध्यमले जनाएका छन्। स्पेनिस ला लिगामा १७ अंक जोडेको रियल दोस्रो स्थानमा छ।