पथरी। संकटा क्लब काठमाडौं पथरीशनिश्चरे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पथरी रंंगशालामा बुधबार भएको खेलमा आयोजक पथरी ११ लाई टाइब्रेकरमा पराजित गर्दै संकटा उपाधिनजिक पुगेको हो। टाइब्रेकरमा संकटाले ३–१ ले नतिजा आफ्नो पक्षमा पार्यो।
निर्धारित समयमा १–१ गोल भएपछि खेल टाइब्रेकरतर्फ लम्किएको थियो। निर्धारित समयमा संकटाका कृपा चौधरी र पथरी ११ का विवेक पौडेलले गोल गरे।
१२औं मिनेटमा पथरी ११ का डिफेन्डरको गल्तीको फाइदा उठाउँदै संकटाका कृपाको शक्तिशाली प्रहारले जाली चुम्यो। कृपाको प्रहारलाई पथरी ११ का गोलकिपर समिर क्षेत्रीले अन्दाज गर्न नसक्दा घरेलु सर्मथक निरास बने।
दोश्रो हाफपछि घरेलु टोलीले निक्कै आक्रमक खेल पस्किएको थियो। ६६औं मिनेटमा साइमन लिम्बूले प्रहार गरेको कर्नरलाई संकटाका गोलकिपर निशान रानाले पञ्च गरेर बचाए। तर, रिवाउन्ड वललाई अनमार्कमा विवेक पौडेलले पेनाल्टी बक्सनजिकबाट गरेको प्रहार गोलमा परिणत भयो। त्यसअघि पथरी ११का विजय भुजेलको प्रहार रानाले बचाएका थिए।
निर्धारित समयमा वरावरी खेलेका दुवै टोलिको निर्णय टाइब्रेकरमार्फत भयो। पथरी ११ का सनम धिमाले गोल गर्दा साइमन लिम्बू र धिरेन क्षेत्रीको प्रहार बाहिरियो। नीरज परियारको प्रहार भने गोलकिपर रानाले पञ्च गरेर बचाए।
संकटाका लागि पुष्कर खड्का, कृपा चौधरी र युवराज ढकालले गोल गर्दा अनिष परियारको प्रहार बाहिरियो। खेलको म्यान अफ द म्याच संकटाका गोलकिपर राना घोषित भए।
बिबीबार झापा ११ले फाइनल प्रवेश गर्न काठमाडांैको बिग्रेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्नेछ। क्वार्टरफाइनलमा झापाले धरान सिटी फुटबल क्लबलाई पराजित गरेको हो भने बिग्रेडले सिराहको सलहेस युथ क्लबलाई पराजित गरेको हो। गोल्डकपको फाइनल शनिबार हुने छ।