काठमाडौं। घरेलु टोली भुटानलाई पराजित गर्दै नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा नेपालले भुटानमाथि २–१ को पुनरागमन जित हासिल गरेको हो।
योसँगै नेपालले फाइनल प्रवेशका लागि भारतसँग खेल्ने छ। भारत समूह ए को विजेता हो। अहिल्लो संस्करणको फाइनलमा भारतले नेपाललाई पराजित गर्दै उपाधि हात पारेको थियो।
पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा गोलकिपर पेमा नोर्बु भोटेको गल्तीका कारण नेपाल खेलमा पछि पर्यो। भुटानका कप्तान नवाङ योङतेनले प्रहार गरेको लामो बललाई बचाउन नेपाली डिफेन्डरले हेडरमार्फत ब्याक पास दिएका थिए। सोही बल बचाउन भोटे अगाडि बढे। तर, हाइ बललाई राम्रोसँग नियन्त्रणमा लिन नसक्दा योङतेन थार्चेनले गोल गर्न पुगे।
तर, नेपाल ५६औं मिनेटमै खेलमा फर्कियो। कृष्णबहादुर आलेले करिब ३० यार्डबाट प्रहार गरेको फ्रिकिक बलले सीधै जाली चुम्यो। यद्यपि, यो बराबरीले पनि भुटान सेमिफाइनलमा पुग्ने र नेपाल बाहिरिने समीकरण थियो। तर, उक्त समीकरण सुजनले फेरे।
निर्धारित ९० मिनेटको खेल समाप्त हुन ६ मिनेट बाँकी रहँदा वैकल्पिक गोलकिपर भक्तबहादुर परियारले रिलिज गरेको बल पेनाल्टी बक्सनजिक पुगेको थियो। उक्त बललाई भुटानका डिफेन्डरले रोक्न नसक्दा सुजनले ‘वान भर्सेस वान’मा गोल गरे। जारी प्रतियोगितामा उनको यो चौथो गोल हो। भक्तबहादुर ८०औं मिनेटमा भोटेको स्थानमा मैदान उत्रिएका हुन्।