काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा अपराजित यात्रालाई कायम राखेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले कर्णाली प्रदेशविरुद्ध ३-० को सहज जित निकालेको हो। योसँगै सुपर लिगमा पुगिसकेको पुलिसले १८ अंक पुर्याउँदै तेस्रो स्थान सुरक्षित राखेको छ।
पुलिसको यो पाँचौं जित हो। पुलिसले एपिएफ र चन्द्रपुर नगरपालिकासँग गोलरहित बराबरी खेलेको थियो। यस्तै, त्रिभुवन आर्मीसँग भने १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो। पुलिसले अब अन्तिम खेल संकटा फुटबल क्लबसँग खेल्नेछ।
पुलिसलाई जित दिलाउन निर्मला उपाध्याय, मनिषा राउत र सम्झना लावतीले गोल गरिन्। ४४औं मिनेट पुलिसकी कप्तान घिमकुमारी घिमिरेको कर्नर बललाई अनमार्कमा रहेकी निर्मलालाई रोक्ने कोही भएनन्।
५५औं मिनेटमा रेविका पाण्डेलाई रोक्नेक्रममा कर्णालीकी विनिता राईले लडाउन पुगेपछि रेफ्री ज्ञानबहादुर मोक्तानले फ्रिकिक दिएका थिए। उक्त फ्रिककलाई घिमकुमारीले नै प्रहार गरिन्। तर, कर्णालीकी कप्तान तथा गोलकिपर लिला जैशीले नियन्त्रणमा लिन नसक्दा ममताले अग्रता दोब्बर बनाइन्।
सम्झानाले निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा तेस्रो गोल गरिन्। पेनाल्टी बक्सनजिक प्राप्त फ्रिकक पनि घिमकुमारीले नै प्रहार गरेकी थिइन्। तर, क्रसबारमा लागेर फर्किँदा सम्झनाले गोल गरेकी हुन्।