काठमाडौं। इङ्लिस प्रिमियर लिगमा आर्सनलविरुद्धको खेलको दुई दिन म्यानचेस्टर सिटीले लिग कपमा धेरै रोटेट गरिएको टोली उतारेको थियो।
तर, इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीलाई दोस्रो श्रेणीको वाटफोर्डविरुद्ध २–१ को नतिजा निकाल्न धेरै गाह्रो भएन।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सन् २०१८ देखि लगातार चार वर्ष सिटीबाट लिग कप जितेका थिए। तर, उनले यस सिजन लिग कपलाई गम्भीरतापूर्वक नलिने र केही बेन्चका खेलाडीलाई मौका दिने बताएका छन्। जेरेमी डोकु पाँचौं मिनेटमा सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।
३८औं मिनेटमा माथेयस नुनेसले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए। वाटफोर्डका लागि ८६औं मिनेटमा इङ्ल्यान्डका पूर्वमिडफिल्डर पाउल इन्सेका छोरा टम इन्सले गोल गरेपनि हार टार्न सकेनन्।