काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक बनेको छ। खेल क्यानडाको किङ् सिटीमा ८ः४५ बजे हुने तय थियो। तर, लगातारको वर्षाले खेल टस नै नभइ रद्द भएको हो।
खेल रद्द भएसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्। नेपाल पछिल्ला पाँच खेलमा पराजित छ। घरेलु टोली क्यानडासँग दुई खेलमा गुमाएको नेपालले ओमानविरुद्धको पहिलो खेलसमेत हार्न पुगेको थियो। योसँगै नेपालले सात अंक गुमाउँदै क्यानडा भ्रमण समाप्त गरेको छ।
यसअघि नेपालले पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो। उक्त सिरिजमा नेपालले मात्र एक खेलमा जित निकाल्दै दुई अंक जोडेको थियो। लिगको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराउनुबाहेक नेपालले जित देख्न पाएको छैन। नामिबिया र नेदरल्यान्ड्ससँग घरेलु मैदानमा तीन खेल हार्दै ६ अंक गुमाएको नेपालले क्यानडा भ्रमणमा पनि जित निकाल्न सकेन।
निरन्तरको हारले खेलाडीमाथि जितको दबाब बढ्दो छ भने नेपाल लिग तालिकामा पुछारदेखि दोस्रोमा छ। नेपालको तीन अंक छ। ओमान भने सात खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ ।