एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले ब्राइटन एण्ड होभ आल्बियनलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा म्यान युनाईटेडले ब्राइटनलाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा जित दिलाउन पाउल पोग्बा र मार्कोस रासफोर्डले गोल गरे ।
खेलको २७ औ मिनेटमा पोग्बाको पेनाल्टी गोलमा म्यान युनाईटेडले अग्रता लिएको थियो । ४२ औ मिनेटमा रासफोर्डले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।
७२ औ मिनेटमा पास्कल ग्रोसले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो सफल हुन सकेन ।
म्यान युनाईटेडले लिगमा लगातार ६ खेलमा जित निकाल्दा केयर टेकर प्रशिक्षक ओले गुनर सोल्सायरले नयाँ कीर्तिमान बनाए । उनी क्लब सम्हालेपछि लगातार ६ खेल जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।
म्यान युनाईटेडले घरेलु मैदानमा खेलिएको ब्राइटनविरुद्वको खेल अहिलेसम्म गुमाएको छैन ।
जितपछि म्यान युनाईटेड पाँचौ स्थानमा उक्लिएको छ । उसले ४४ अंक जोडेको छ । ब्राइटन २६ अंक सहित १३ औ स्थानमा यथावत छ ।