एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले साँघुरो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ४ - ३ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा १० खेलाडीमा सिमित लिभरपुलले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे । यस्तै रोबर्टो फिर्मिन्हो र साडियो मानेले एक एक गोल गरे । क्रिष्टलका एन्ड्रोस टाउनसेन्ड, जेम्स टोनकिन्स र म्याक्स मेयरले एक एक गोल गरे ।
एनफिल्डमा खेलको ३४ औ मिनेटमा टाउनसेन्डले गोल गर्दै क्रिष्टललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १ - ० ले पछि परेको लिभरपुल दोस्रो हाफमा खेलमा फर्कियो ।
खेलको ४६ औ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १ - १ को बराबरीमा फर्काए । ५३ औ मिनेटमा फिर्मिन्होले गोल गरेपछि लिभरपुल २ - १ ले अघि रह्यो । ६५ औ मिनेटमा जेम्सले गोल गर्दा क्रिष्टलले खेल २ - २ को बराबरी गर्न अफल भयो ।
खेलको ७५ औ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३ - २ को अग्रता दिलाए । ८९ औ मिनेटमा जेम्स मिल्नरले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ९० औ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ४ - २ को अग्रता दिलाए । लगत्तै खेलको इन्जुरी समयमा क्रिष्टलका मेयरले गोल एक गोल गरेपनि लिभरपुलले खेल ४ - ३ ले आफ्नो बनायो ।
जितसंगै लिभरपुलले लिगमा ७ अंकको अग्रता कायम गरेको छ । लिभरपुलले २३ खेलबाट ६० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५३ अंक छ । तर, सिटीले एक खेल कम खेलेको छ ।
पराजित क्रिष्टल २२ अंकसहित १४ औ स्थानमा छ ।