काठमाडौं। जति एन्फा महिला लिग सक्किने रफतारमा अगाडि बढेको छ त्यही रफतारमा वालिङ नगरपालिका र कोशीको मुटुको चाल पनि बढेको छ।
किनभने आफ्नो स्थान सुरक्षित गर्न संघर्ष गरिरहेको टोली भनेको यी दुई नै हुन्। तीन विभागीय टोलीले आफ्नो स्थान सुरक्षित गर्दै सुपर लिगको यात्रा तय गरिसक्दा सुदूरपश्चिम र कर्णाली, बाहिरसकेका छन्। अन्य टोलीको आश झिनो मात्रै हो।
यस्तो अवस्थामा सोमबार भिड्दैछन्, चन्द्रपुर नगरपालिका र कोशी। सात खेलको समाप्तिमा कोशी र चन्द्रपुरबीच फरक भनेको तीन अंकको हो। लगातार तीन खेल जितेर तेस्रो चरणसम्म शीर्ष स्थानमा रहेको यो टोली अहिले चार स्थान तल झरेको छ।
१० अंक हासिल गरेको कोशीलाई शीर्ष पाँचमा अटाउन सोमबार चन्द्रपुरसँग हुने खेलको नतिजा महत्त्वपूर्ण हुनेछ। किनभने कोशीभन्दा दुई अंक बढी जोडेको वालिङ तेस्रो स्थानमा छ।
यो खेल हारेमा कोशीलाई चन्द्रपुरले अंकमा भेटाउने छ। यस्तै, आठ अंक जोडेको संकटा फुटबल क्लब र ७ अंक जोडेको बागमती युथ क्लबले पनि भेटाउने चान्स उत्तिकै छ। त्यसैले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १२:३० बजे हुने खेल दुवै टोलीका लागि ‘गर या मर’को स्थितिमा हुनेछ। यो खेल जिते कोशीले १३ अंकसहित एक स्थान सुधार गर्ने छ। यता चन्द्रपुरले जिते बागमती र संकटालाई उछिन्दै शीर्ष ६ मा फड्को मार्नेछ।