काठमाडौं। स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाका गोलकिपर टेर स्टेगेन घाइते भएका छन्।
बार्सिलोनाले भिल्लारियललाई ५–१ ले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौं जित हात पारेको थियो। तर, कप्तान टेर स्टेगेनलाई मध्यान्तरअघि स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो।
बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले उनको लिगामेन्ट च्यातिएको जस्तो देखिएको बताएका छन्। तर, थप परीक्षण उनले बताए। स्थानीय सञ्चारमाध्यमका अनुसार टेर स्टेगेनलाई मैदानबाट एम्बुलेन्समा अस्पताल लगिएको थियो। त्यसपछि उनी ह्वीलचेयरमा बसेर अस्पतालबाट बाहिरिएका थिए।
'यो चोटले हामीलाई दुःखी बनाएको छ। मलाई लाग्छ कि चोट ठूलो हुनेछैन। तर, हामीले थप जानकारीको लागि पर्खनु पर्छ," बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले भने। उनले भने, 'हामीले यसलाई स्वीकार गर्नुपर्छ। यो सजिलो छैन। यो एउटा दुर्घटना थियो।
टेर स्टेगेन पीडाले छटपटाएपछि दुवै टोलीका खेलाडीले तत्काल चिकित्सकीय सहायताका लागि कल गरेका थिए। उनको स्थानमा रिजर्व गोलकिपर इनाकी पेनाले स्थान लिएका थिए।
डेनी ओल्मो, फ्रेन्की डी जोङ, गाभी र रोनाल्ड अराउजोजस्ता खेलाडीबिना नै मैदान उत्रेको फ्लिकको बार्सिलोना अझ समस्यामा देखिएको छ।
रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा दुई तथा राफिन्हाले मध्यान्तरपछि दुई गोल गरे भने दोस्रो हाफमा पाब्लो टोरेले पनि गोल गरे। लेवान्डोस्कीले सुरुका ६ खेलमा ६ गोल गरेका छन्। उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्।