काठमाडौं। रोबर्ट लेवान्डोस्की ह्याट्रिक गर्न चुकेपनि बार्सिलोनाले स्पेनिस ला लिगमा भिल्लारियलमाथि सजिलो जित हासिल गरेको छ।
सिरामिका स्टेडियममा आइतबार राति भएको खेलमा बार्सिलोना ५-० ले विजयी भएको हो। शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक पुगेको छ। समान खेलबाट ११ अंक जोडेको भिल्लारियल भने पाँचौं स्थानमा छ। उसको यो दोस्रो हार हो।
२०औं मिनेटमै लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको १५ मिनेटपछि नै उक्त अग्रता दोब्बर बनाए।
यद्यपि, ३८औं मिनेटमा अयोज परेजले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत देखाएका थिए। तर, ५८औं मिनेटमा पेड्रीको क्रसमा पाब्लो टोरेले गोल गर्दै बार्सिलोनाको अग्रता ३-१ मा पुर्याएसँगै भिल्लारियलको पुनरागमन गर्ने आश तुहिन पुगेको थियो।
त्यसमाथि ६७औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेनन्। योसँगै उनी ह्याट्रिक गर्नबाट चुके। ६८औं मिनेटमा भिल्लारियलका थिरोनो बेर्रीले गोल गरे पनि भिएआरले मान्यता दिएन।
त्यसको आठ मिनेटपछि राफिन्हाले बार्सिलोनाका लागि अर्को गोल थपे। निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा लामिन यमलको पासमा उनले अर्को गोल थप्दा बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई ६ खेलसम्म लम्ब्याउन पायो।