काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत क्यानडाविरुद्धको दोस्रो खेलमा पनि पराजित भएको छ। सोमबार बिहान भएको खेलमा घरेलु टोलीसँग नेपाल पाँच विकेटले पराजित भएको हो।
नेपालका लागि सन्दीपले सर्वाधिक ४९ रन र दुई विकेट लिए पनि क्यानडा भ्रमणबाट लगातार तेस्रो हार टार्न सकेनन्। लिग-२ मा भने समग्रमा यो नेपालको लगातार छैटौं हार हो।
नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर १८६ रन बनायो। क्यानडाका ओपनर नभनित धालिवालाले सर्वाधिक ८७ रन बनाए। ११३ बल खेलेका उनले आठ चौका र चार छक्का प्रहार गरे।
पर्गट सिंहले ६४ रनको इनिङ्स खेल्दा हर्ष ठाकेरले १३ र कप्तान निकोलस कृर्तनले ११ रनको योगदान दिए। नेपालका सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४२ रनले खर्चिए।
करण केसी, ललितनारायण राजवंशी र गुलसनकुमार झाले समान एक विकेट हात पारे। त्यसअघि किङ्स सिटीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले राम्रो सुरुआत गर्न सकेन।
ओपनर अर्जुन साउद १०, आरिफ शेख दुई रनमा आउट भए। भीम सार्की, कप्तान रोहितकुमार पौडेल र अनिलकुमार साहले दोहोरो अंकमा रन बटुल्न नसक्दा आरिफ शेख पनि १० रनमा पेभिलियन फर्किए।
यद्यपि, गुलसनकुमार झाले ५६ बलमा समान दुई चौका र छक्का प्रहार गर्दै नेपालको स्कोर बोर्डमा ७-८७ बनाइदिएका थिए। तल्लो क्रमका सोमपाल कामीले २१ र करण केसीले २४ रनको योगदान दिँदा सन्दीप लामिछाने अर्धशतकबाट चुके।
४८ बल खेलेका उनले पाँच चौका र एक छक्कासहित ४९ रन बनाए। ललितनारायण राजवंशी सधा झैं यसपल्ट पनि अविजित रहे, त्यो पनि शून्य रनमा।