पथरी। प्रदीप बूढाथोकीको ह्याट्रिकसँगै झापा ११ प्रथम पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको खेलमा धरान फुटबल क्लबलाई ४–० ले पराजित गरेको हो। झापाका लागि अर्को गोल अभिषेक गुरुङले थपे।
नवौं मिनेटमा झापाका उत्सव राईको क्रसलाई दोस्रो बार चेप्दै बुढाथोकीले गोल गरे। ४२औं मिनेटमा वैकल्पिक खेलाडी हरिबहादुर आलेको प्रहारलाई फिनिस टच दिँदै दोस्रो गोल गर्न पुगे। बुढाथोकीले ५२ औं मिनेटमा ह्याट्रिक पूरा गरे।
आलेकै पासमा उनले बललाई जाली चुमाएका हुन्। यो प्रतियोगिताको पहिलो ह्याट्रिक हो। अतिरिक्त समयमा पारस कार्कीको पासमा अभिषेकले गोल गर्दै ४–० को सजिलो जित दिलाए।
बूढाथोकी म्यान अफ द म्याच घोषित भए। सोमबार संकटा क्लब काठमाडौं र भारतको युके एफसी भिड्ने छन्।