काठमाडौं। एन्फा महिला लिगका बाँकी दुई खेलमा कोशी प्रदेश, वालिङ तथा चन्द्रपुर नगरपालिकाले जितले संकटा फुटबल क्लब रेलिगेसनमा पर्ने पक्का हुनेछ। पहिलोपल्ट लिग खेलिरहेको संकटा अहिले आठ अंकसहित तालिकाको छैटौं स्थानमा छ। तर, उसलाई रेलिगेसनबाट बच्न चाहिने स्थान भनेको शीर्ष पाँच नै हो।
यही शीर्ष पाँचमा तीन विभागीय टोली एपिएफ, आर्मी र पुलिसले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। त्यसैले बाँकी दुई स्थानमा अटाउन कोशी, वालिङ र चन्द्रपुर हारेर मात्रै हुँदैन, संकटालाई बागमती युथ क्लब र नेपाल पुलिस क्लबसँग पनि जित अपरिहार्य हुन्छ।
यस्तोमा मुख्य प्रशिक्षक रवीन्द्र शिलाकार के भन्छन् भने,‘शुक्रबारको जितले अझै शीर्ष पाँचमा पर्छौं भन्ने आश पलाएको छ। तर, हामीलाई जित र अरूलाई खराब नतिजा चाहिन्छ। यसले कम्तीमा अंक बराबरी मात्रै गर्न सके पनि गोल संख्याको आधारमा अर्को चरणमा जाने थियौं।’
६ मध्ये एकमा जित र दुई बराबरीको नतिजा हात पारेको संकटा शुक्रबार अघिसम्म पाँच अंक जोडेर तालिकाको आठौं स्थानमा थियो। तर, उसलाई आफ्नो स्थान सुधार गर्न कमजोर टोलीको खाँचो थियो। यस्तोमा पर्दियो सुदूरपश्चिम प्रदेश। जारी लिगमा अंक र जितविहीन रहेको एक मात्रै टोली भने सुदूरपश्चिम नै हो।
दुई खेल खेल्न बाँकी रहे पनि यो टोली प्रतियोगिताबाट बाहिरिइसकेको छ। यस्तोमा संकटाले शुक्रबार गोलको वर्षा मात्रै गरेन अर्को चरणमा पुग्ने सम्भावना पनि हाँगो हाल्न भ्यायो।
यो सबै सम्भव भएको भनेको विदेशी खेलाडी टोमिलोपे जेनिफरको एक्लो प्रयासमा। उनले टोलीका लागि एक्लैले चार गोल गरिन् र संकटाले धेरैपछि ६–० को फराकिलो जित चाख्न पायो। यसमा ममता पुन र पूर्णिमा हमालले पनि गोल थपेकी हुन्।
आइतबार बागमतीले कर्णाली प्रदेशको सामना गरेसँगै लिगको सातौं चरण समाप्त हुनेछ। यो खेलको नतिजाले भने संकटाको लक्ष्यमा कुनै बाधा पर्दैन। किनभने संकटा यी दुई टोलीभन्दा चार अंकले अगाडि छन्।
तर, त्यसपछि हुने खेलमा १२ अंकसहित चौथो स्थानमा रहेको वालिङले आर्मी र चन्द्रपुरसँग खेल्नेछ। यस्तै, १० अंकसहित पाँचौं स्थानमा रहेको कोशीले चन्द्रपुर र सुदूरपश्चिमसँग खेल्न बाँकी छ। कोशीले चन्द्रपुरसँग बराबरी खेले र सुदूरपश्चिमलाई हराए १४ अंक जोड्ने छ।
आर्मी र चन्द्रपुर दुवैसँग हारे वालिङ १२ अंकमै रोकिने छ। चन्द्रपुरको भने लिग सकिँदा ११ अंक पुर्याउने छ। यस्तोमा बाँकी दुई खेल जिते संकटा १४ अंकसहित शीर्ष पाँचमा रहेर दोस्रो चरणमा पुग्नेछ। नत्र प्रतियोगिताबाट बाहिरिनेछ। ‘दुई खेल जसरी पनि जित्नै पर्ने दबाबमा छौं। हार्यौं भने यही स्थानमा रहने छौं, जुन हामी चाहन्नौ,’ उनले भने।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमामा शनिबार नै भएको अर्को खेलमा भने पुलिसले वालिङलाई २–० ले स्तब्ध पार्दै शीर्ष पाँचको यात्रा तय गरिसकेको छ। पुलिसको चौथो जितमा दुवै गोल सम्झना लावतीले गरेका हुन्।
योसँगै सातमध्ये चारमा जित र दुई बराबरीको नतिजा निकालेको पुलिस १४ अंकसहित शीर्ष तीनमा छ। अब पुलिसले संकटासँगै प्रतियोगिताबाट बाहिरिइसकेको कर्णालीसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई खेल नै हारे पनि १६ गोल गरेर एक मात्रै खाएको पुलिस गोल अन्तरको आधारमा शीर्ष पाँचमै रहने छ।