काठमाडौं। वालिङ नगरपालिकालाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले सुपर लिगमा स्थान सुरक्षित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा पुलिसले वालिङलाई २-० ले हराएको हो।
पुलिसको यो चौथो जित हो। तीन बराबरी खेलेको पुलिसले सात खेलबाट १५ अंक जोड्दै शीर्ष पाँचमा स्थान पक्का गर्यो। पराजित भए पनि वालिङले शीर्ष पाँचमा रहँदै सुपर लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ। वालिङ सात खेलबाट १२ अंक जोड्दै चौथो स्थानमा छ।
पहिलो हाफमा पुलिसलाई वालिङले रोकेको थियो। तर, दोस्रो हाफमा सम्झना लावतीले दुई गोल गर्दै पुलिसलाई जित दिलाए। उनले ६७ र इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेकी हुन्।