काठमाडौं। नेपाली यु-२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले मैदानको अवस्था थाहा नहुँदा कम्बोडियासँग हार्न पुगेको बताएका छन्।
एएफसी एसियन कपअन्तर्गत समूहचरणको पहिलो खेलमा कम्बोडियासँग नेपाल ४-१ ले पराजित भयो। नेपालका लागि एकमात्रै गोल पहिलो हाफको इन्जुरी समयमा समीर तामाङले गरेका थिए।
‘हामीलाई मैदानको बारेमा थाहा थिएन। यो चिप्लो रहेछ। त्यसैले खेलाडीलाई खेल्न समस्या भयो,’ खेलपछि उनले भने। पहिलो हाफमा नेपाल २-१ ले पछि परेको थियो। तर, दोस्रो हाफमा फितलो प्रदर्शन गर्दै तीन गोल खान पुग्यो।
कम्बोडियाका लागि भ्रेक फान,फोउक थाथाई, मीन वचनरिथ र एभ सोवान्नाराले समान एक गोल गरे। समूह बी मा रहेको नेपालले दोस्रो खेल घरेलु टोली चाइनिज ताइपेइसँग खेल्ने छ। अब मैदानको अवस्था थाहा भइसकेको हुँदा घरेलु टोलीविरुद्ध भने नतिजा ल्याउने उनले बताए।
‘अर्को खेल चाइनिज ताइपेइसँग छ। मैदानको कन्डिसन थाहा भइसक्यो। आज हामीले जुन गल्ती गर्यौं, त्यसलाई सुधार गर्छौं,’ उनले भने।