काठमाडौं। सुदूरपश्चिम प्रदेशमाथि गोलको वर्षा गराउँदै संकटा फुटबल क्बलले एन्फा महिला लिगको दोस्रो चरणको सम्भावना जीवितै राखेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको खेलमा संकटाले सुदूरपश्चिममाथि ६-० गोल वर्षाएको हो। जारी लिगमा संकटाको यो दोस्रो जित हो। यसअघि कर्णालीलाई संकटाले २-० ले हराएको थियो।
जितसँगै संकटाले सात खेलबाट आठ अंक जोडेको छ। अब बाकी दुई खेलमा संकटालाई जितको विकल्प हुनेछैन।
यस्तै, अन्य टोलीको नतिजामा पनि संकटालाई भर पर्नुपर्नेछ। यता, सुदूरपश्चिमको भने यो सातौं हार हो। लिगमा अंकविहीन एकमात्रै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ।
संकटाको दोस्रो जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन्। ममता पुन र पूर्णीमा हमालको नाममा एक गोल रह्यो।