काठमाडौं। भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले सन् २०२१ देखि एसियाली पिचमा स्पिनरविरुद्ध संघर्ष गरिरहेका छन्।
चेन्नईमा बंगलादेशविरुद्ध कोहली पुन: एकपल्ट स्पिनको सिकार बने। उनले टेस्टको दुवै इनिङ्समा ६ र १७ रन बनाए। पहिलो इनिङ्समा उनी हसन महमुदको अफ स्टम्प डेलिभरीलाई प्रहार गर्न खोज्दा आउट भए।
दोस्रो इनिङ्समा उनी मेहदी हसन मिराजको शिकार बन्दै एलबीडब्लू आउट भए। सन् २०२१ देखि स्पिनरविरुद्ध टेस्ट फर्म्याटमा कोहलीले एक हजार ९४ बलको सामना गर्दै ४९९ रन बनाएका छन्। यस अवधिमा उनी १८ पटक आउट भएका छन्। उनको औसत २७.७२ र स्ट्राइक रेट ४५.६१ छ।
यस वर्ष सबै फर्म्याटमा उनी खराब प्रदर्शनबाट गुज्रेका छन्। सन् २०२४ मा १५ म्याचको १७ इनिङ्समा उनले १८.७६ को औसतमा ३१९ रन मात्र बनाए। दक्षिण अफ्रिकाविरुद्धको टी–२० विश्वकपको फाइनलमा उनले ७६ रन बनाएका थिए।
टेस्ट क्रिकेटमा उनको औसत आठ वर्षयताकै सबैभन्दा कम छ। उनले ११४ टेस्ट म्याचको १९३ इनिङ्समा ४८.७४ को औसतमा २९ शतक र ३० अर्धशतकसहित आठ हजार ८७१ रन बनाएका छन्। पछिल्लोपल्ट सन् २०१६ को नोभेम्बरमा उनको औसत ४८.२८ थियो।
सन् २०२० को अवधि टेस्ट कोहलीका लागि राम्रो थिएन। सन् २०२० को सुरुआतदेखि अहिलेसम्म खेलेका ३० टेस्ट म्याचमा उनले ५२ इनिङ्समा ३२.७२ को औसतमा दुई शतक र आठ अर्धशतकसहित एक हजार ६ सय ६९ रन मात्र बनाएका छन्। उनको उत्कृष्ट स्कोर १८६ रन हो।
सन् २०२३–२५ आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको चक्रमा उनले पाँच टेस्टको आठ इनिङ्समा ४९.०० को औसतमा ३९२ रन बनाएका छन्। जसमा एक शतक र दुई अर्धशतक समावेश छ। उनका सर्वश्रेष्ठ स्कोर १२१ रन हो। आफ्नो पहिलो डब्ल्यूटीसी उपाधिको खोजीमा रहेको भारत न्युजिल्यान्ड र अस्ट्रेलियाविरुद्धको आगामी सिरिजमा कोहलीलाई फेरि एकपटक उत्कृष्ट लयमा फर्किएको देख्न आतुर हुनेछ।