काठमाडौं। साफ यु-१७ च्याम्पियनसिपअन्तर्गत साबिक उपविजेता नेपालले शुक्रबार पाकिस्तानको सामना गर्दै छ। खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा दिउँसो १:४५ बजे हुनेछ।
पाकिस्तानले यो उमेरसमूहमा पहिलोपल्ट सहभागिता जनाउन लागेको हो। यसपल्ट पनि टोलीलाई प्रतियोगितामा सहभागिता जनाउन नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिन सकस परेको थियो। उडान भर्नुभन्दा एक घण्टाअघि मात्रै एनओसी पाएपछि पाकिस्तान चार दिनअघि थिम्पु पुगेको हो। नेपालको भने लगातार दोस्रो सहभागिता हो।
यसअघि श्रीलंकामा भएको प्रतियोगितामा नेपालले समूहचरणमा भारत र भुटान तथा सेमिफाइनलमा घरेलु टोलीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। तर, उपाधि भिडन्तमा भने भारतसँगै नेपाल ४-० ले पराजित हुन पुग्यो। यसपल्ट नेपाल त्यही घाउ बिर्साउने लक्ष्यमा छ।