काठमाडौं। चन्द्रा भण्डारी र अमिषा कार्कीको ह्याट्रिकसँगै त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगको दोस्रो चरणमा स्थान सुरक्षित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा आर्मीले चन्द्रपुर नगरपालिकालाई १०-० ले पराजित गरेको हो। योसँगै दोस्रो स्थानको आर्मीले सात खेलबाट १६ अंक जोडेको छ। यसको मतलब अब एपिएफपछि सुपर लिगमा स्थान बनाउने आर्मी दोस्रो टोली बनेको छ।
आर्मीको जितमा चन्द्रा र अमिषाले मात्रै ६ गोल गरिन्। हिमा चौधरी, दीपा शाही, अन्जन रानामगर र सर्मिला थापा मगरले समान एक गोल थपिन्।
खेलको दोस्रो मिनेटमै चन्द्राको गोलमार्फत आर्मीले सुरुआती अग्रता लिएको थियो। २८औं मिनेटमा अमिषाले उक्त अग्रता दोब्बर बनाइन्। ३२औं मिनेटमा हिमा चौधरीले टोलीका लागि तेस्रो गोल गरिन्।
त्यसको आठ मिनेटपछि नै चन्द्राले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरिन्। आर्मीलाई ४२औं मिनेटमा अमिषाले अर्को सफलता दिलाइन्। योसँगै आर्मीले पहिलो हाफमा ५–० को अग्रता बनाएको थियो। चन्द्रपुरले ५२औं मिनेटमा पेनाल्टी दियो। बल रोक्ने क्रममा चन्द्रालाई चन्द्रपुरकी गोलकिपर उषा थापाले पेनाल्टी बक्सभित्र लडाउन पुगेकी थिइन्। त्यसमा दीपाले गोल गरिन्।
६८औं मिनेटमा आर्मीकी गोलकिपर अञ्जनाले पनि पेनाल्टीमार्फत नै टोलीका लागि सातौं गोल गरिन्। कप्तान सलोनी रानामगरले बल रोक्ने क्रममा ह्यान्ड गर्न पुगेपछि रेफ्री प्रज्वल क्षेत्रीले आर्मीलाई पेनाल्टी दिएका थिए। जसमा अञ्जना चुकिनन्। त्यसको एक मिनेटपछि नै अमिषाले ह्याट्रिक पूरा गरिन्। जारी लिगमा उनको यो पहिलो ह्याट्रिक हो। यो तीन गोलसँगै उनले लिगमा आप्नो गोल संख्या पाँच पुर्याएकी छन्।
८४औं मिनेटमा चन्द्राले पनि ह्याट्रिक पूरा गरिन्। चन्द्राको भने जारी लिगमा यो चौथो गोल हो। निर्धारित खेल सकिन चार मिनेट बाँकी हुँदा सर्मिलाले पनि आर्मीका लागि गोल थपिन्। उनी ६९औं मिनेटमा अमिषाको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।