काठमाडौं। एन्फा महिला लिगको पहिलो चरणमा तीन खेल मात्रै बाँकी रहँदा सुपर लिगमा आफ्नो स्थान सुरक्षित गरिसकेको एकमात्रै टोली हो एपिएफ।
बलियो देखिएको टोलीले पछिल्ला ६ खेलमा हार बेहोर्नु परेको छैन। त्यसैले त १६ अंकसहित शीर्ष स्थानमा छ। यही टोलीको अपराजित यात्रालाई निरन्तरता दिन शुक्रबार कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।
खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १२:३० बजे हुनेछ। एपिएफले ६ खेल सकिँदा पुलिससँग मात्रै अंक बाँडेको थियो। यता, कोशी भने पछिल्ला तीन खेलमा लयबाट भड्किएको छ।
पुलिससँग ४ गोल बेहोरेको कोशीले अर्को विभागीय टोली आर्मीसँगको खेलमा पनि पुनरागमन गर्न सकेको थियो। उक्त खेलमा कोशीले प्रतियोगिताकै सबैभन्दा बढी अर्थात ५ गोल खान पुगेको थियो।
संकटा फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिनु र ब्याट टू ब्याक हार बेहोर्नुले कोशी कतै दोस्रो चरणमा त नपुग्ने होइन भन्ने पनि शंका उत्पन्न भएको छ। यस्तोमा मुख्य प्रशिक्षक श्याम मानन्धर भन्छन्, ‘विभागसँग हामीले सक्ने कुरा नै भएन। त्यसैले विभाग बाहिरका ६ टोलीसँग अंक बटुल्ने लक्ष्य लिएर आएका हौं। एकमा बराबरी खेल्यौं। अन्यमा शतप्रतिशत नतिजा निकाल्ने छौं।’
शुक्रबार जित हासिल गरे समान १२ अंक जोडेको पुलिस र वालिङ नगरपालिकालाई उछिन्दै कोशी शीर्ष तीनमा पुग्ने छ। हार बेहोरे उसलाई चन्द्रपुर नगरपालिकाले छैटौं स्थानमा धकेल्ने सम्भावना पनि छ।
किनभने चन्द्रपुरले पुलिसलाई गोलरहित बराबरीमा मात्रै होइन, करिब करिब जित नै हासिल गरिसकेको थियो। यस्तोमा शुक्रबार नै हुने दोस्रो खेलमा चन्द्रपुरले सुधारिएको प्रदर्शन गर्दै आर्मीलाई हराए ६ खेलबाट १० अंक पुर्याउने छ। त्यसैले कोशीलाई शुक्रबारको खेलमा जितको विकल्प हुनेछैन।