काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माग गरेको अनुमानित लागत, समयावधी सहितको कार्ययोजना पेश गर्न आलटाल गरेको छ।
साउन अन्तिममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिनभित्र एन्फाले परामर्शदाताको सुझाव अनुसार कार्ययोजना पेश गर्ने सहमती भएको थियो। सहमती अनुसार एन्फाले अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरि फुटबल मैदानलाई स्तरोन्नती गर्न कार्ययोजना पेश गर्नुपर्ने थियो।
छलफल भएको एक महिना बितिसक्दा पनि कार्ययोजना पेश नगरेको भन्दै राखेपले फेरि ध्यानाकर्षण गराउन पत्राचार गरेको छ। सात दिनभित्र लागत, आवश्यक पर्ने समयावधीसहितको कार्ययोजना पेश गर्न पुन: पत्राचार गरिएको राखेपअन्तर्गत संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिए।