काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिगको पहिलो खेलमा जित हात पारेको छ।
नुनो मेन्डेसको बायाँ विंग क्रसलाई गोलकिपर पाउलो गाजानिगालाई लाग्दै गोल हुँदा पिएसजीले बुधबार राति भएको खेलमा यसै सिजन डेब्यु गरेको जिरोनालाई १–० ले पराजित गरेको हो।
एक दशकभन्दा बढी समयपछि पहिलो पटक पिएसजीले च्याम्पियन्स लिगको अभियान कम्तीमा एक स्टार खेलाडीबिना सुरु गरेको छ, जसलाई फुटबलमा ग्यालेक्टिकोको नामले चिनिन्छ।
तर, ज्लाटन इब्राहिमोभिच, एडिन्सन काभानी, नेयमार, केलियन एमबाप्पे र लियोनल मेसीजस्ता खेलाडीले युरोपको एलिट क्लब प्रतियोगिता नजितेर गएपछि पिएसजीले थप फ्रेन्च खेलाडी र बढी टिमवर्कमा आधारित नयाँ पहिचानका साथ यो अभियान सुरु गरेको हो। एमबाप्पेबिना पिएसजीको यो पहिलो च्याम्पियन्स लिग खेल हो।