धनगढी । विभागीय टोली नेपाल पुलिस क्लबले तेस्रो संस्करणको नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा रुस्लान थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराउदै पुलिसले उपाधि जितेको हो । उपाधिसंगै पुलिसले गोल्डकप कै सर्वाधिक पुरस्कार राशी २१ लाख प्राप्त गरेको छ । उपविजेता थ्री स्टारले १० लाखमा चित्त बुझाएको छ ।
धनगढीको क्षेत्रीय रंगशालामा भएको फाइनलमा पुलिसलाई उपाधि दिलाउन अविशेक रिजालले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औ मिनेटमा अविशेकले कर्नरमा गोल गरेका थिए । खेलमा अविशेक म्यान अफ दि म्याच चुनिए ।
थ्री स्टारविरुद्धको फाइनल खेलका लागि बनाएको योजना सफल भएको कारण उपाधि जितेको पुलिसका प्रशिक्षक अनन्त राज थापाले बताए ।
'हामी हाम्रो योजनामा सफल भयौ । अझ राम्रो फुटबल खेल्छौ । पछिल्लो बर्षबाट हामीले ८ मा ५ उपाधि जितेका छौ । खेलाडीले उत्कृष्ट खेले,' प्रशिक्षक थापाले भने ।
प्रतियोगिताको सेमिफाइनलमा पुलिसले सीएमजी संकटा क्लबलाई हराएको थियो । यस्तै थ्री स्टारले मेची नेत्रालयलाई हराएको थियो ।