काठमाडौं। केलियन एमबाप्पेले रियल म्याड्रिडबाट आफ्नो पहिलो खेलमा गोल गर्दै च्याम्पियन्स लिग जित्ने सपनालाई पुनर्जीवित गरेका छन्। सान्टियागो बेर्नाबेउ स्टेडियममा भएको खेलमा स्टुटगार्टमाथि ३–१ को जित निकाल्दा दोस्रो हाफको केही सेकेन्डमै रोड्रिगोको क्रसमा एमबाप्पेले गोल गरेका थिए ।
एमबाप्पेले भने, ‘यो रात निकै राम्रो रह्यो। यो कठिन खेल थियो, किनकि रियल सधैं च्याम्पियन्स लिगमा रहन्छन्। तर, घरेलु मैदानमा जितका साथ सुरुआत गर्नु महत्त्वपूर्ण थियो।’
एमबाप्पेले मैनबत्ती बालेर खुसी याली मनाएका थिए। स्पेनी सञ्चारमाध्यमका अनुसार मंगलबार उनको आमाको ५०औं जन्मदिन थियो। ६८औं मिनेटमा स्टुटगार्टले डेनिज उन्डाभको गोलमार्फत खेलमा फर्किएको थियो। ८३औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए। वैकल्पिक खेलाडी एन्ड्रिकले इन्जुरी समयमा गोल गर्दै रियललाई ३–१ को सजिलो जित दिलाए।
एमबाप्पेले फ्रान्सबाट सन् २०१८ को विश्वकप जितेका थिए। तर, पेरिस सेन्ट जर्मेन (पिएसजी) मा सात सिजन बिताएका उनले च्याम्पियन्स लिग भने जित्न सकेनन्।
गत सिजनको अन्त्यमा उनी पिएसजीबाट रियल पुगेका हुन्। रियल स्पेनिस पावरहाउस हो। एमबाप्पेको यो कदमले ११ वर्षमा ६ पटक च्याम्पियन्स लिग जितेको टोलीको साथ ट्रफी उचाल्ने उनको सम्भावनालाई बढाएको छ।
एमबाप्पे सन् २०१७ मा मोनाकोबाट क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेका थिए। सन् २०२० मा पिएसजी फाइनल पुगेपनि पराजित भएको थियो। सन् २०२१ र गत सिजन पनि पिएसजीलाई उनले सेमिफाइनलमा पुर्याएका थिए।