काठमाडौं। एन्ड्रिक रियल मड्रिडका लागि च्याम्पियन्स लिगमा सबैभन्दा कान्छो गोलकर्ता बनेका छन्।
सान्टियागो बेर्नाबेउ स्टेडियममा भएको खेलमा रियलले स्टुटगार्टमाथि ३–१ को जित निकाल्दा १८ वर्षीय ब्राजिलियन फरवार्डले इन्जुरी समयमा गोल गरेका थिए।
युइएफएका अनुसार १८ वर्ष ५८ दिनको उमेरमा उनले गोल गरेका हुन्। यसअघि रियलका पूर्वमहान् खेलाडी राउल गोन्जालेजले १८ वर्ष ११३ दिनका उमेरमा १९९५ मा फेरेन्क्वारोसीविरुद्ध ६–१ को जितमा ह्याट्रिक गरेका थिए।
खेलको ८०औं मिनेटमा एन्ड्रिकले जुड बेलिङ्घमको स्थानमा मैदान प्रवेश गरेका थिए। ब्राजिलियन क्लब पाल्मेरासबाट यो सिजन रियलमा सामेल भएपछि एन्ड्रिकको यो दोस्रो गोल हो। यसअघि उनले स्पेनिस लिगमा डेब्यू खेलमै गोल गरेका थिए।