काठमाडौं। कोशी प्रदेशमाथि गोलको वर्षा गराउँदै विभागीय टोली त्रिभुवन आर्मी एन्फा महिला लिगको तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा आर्मीले कोशी प्रदेशलाई ५-० ले पराजित गरेको हो।
जितसँगै ६ खेलबाट १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको हो। योसँगै आर्मीले शीर्ष स्थानको एपिएफसँगको अंक दुरी दुईमा झारेको छ। समान खेलबाट १० अंक जोडेको कोशी भने चौथो स्थानमा यथावत् छ। आर्मीको जितमा विमला चौधरी र अनिता लम्जेलले समान दुई गोल गरिन्। यस्तै, एक गोल हिमा चौधरीको नाममा रह्यो।
आठौं र १०औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सानदार सुरुआत दिलाएकी थिइन्। २१औं मिनेटमा विमलाले प्रहार गरेको बल हिमाको खुट्टामा डिफ्लेक्ट हुँदा ह्याट्रिक गर्न चुकिन्।
३८औं मिनेटमा अनिताले टोलीका लागि चौथो गोल गरिन्। ६०औं मिनेटमा उनले अर्को गोल थप्दै आर्मीलाई ५-० को सहज जितसहित तीन अंक दिलाइन्।