काठमाडौं। एन्फा महिला लिगको तेस्रो चरणसम्म ठिकठाकै प्रदर्शन गरिरहेको टोली थियो, कोशी प्रदेश।
विदेशी खेलाडीविनै मैदान उत्रिएको यो टोलीले कुनै पनि खेल नगुमाई प्रतियोगितादेखि नै शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको थियो। अझ त्यसपछिका खेलमा तीन भारतीय खेलाडी जोडिदा लाग्थ्यो, कोशीलाई ठक्कर दिने त कोही छैन। तर, अहिले त्यो कुरा भ्रममा परिणत भएको छ। अब कोशी बलियो होइन, झन् झन् कमजोर देखिन थालेको छ।
चौथो चरणमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ४-० ले पराजित भएयता कोशीको लेभल नै खस्किएको छ। यो संकटा फुटबल क्लबसँगको नतिजाले नै प्रस्ट पार्छ। पहिलोपल्ट प्रतिस्पर्धात्मक प्रतियोगिता भाग लिएको संकटाविरुद्ध आधा दर्जन अवसर सिर्जना गरे पनि कोशीले जित हासिल गर्न सकेको थिएन।
त्यसले कोशीलाई चौथो स्थानमा धकेल्यो भने पुलिसलाई दोस्रो र आर्मीलाई तेस्रो स्थानमा रहिरहने वातावरण पनि निर्माण गर्दियो। यही टोलीले मंगलबार पुनः आफ्नो स्थानमा फर्किन आर्मीको सामना गर्नेछ। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३:३० बजे हुनेछ।
मुख्य प्रशिक्षक श्यामबहादुर महर्जनका अनुसार अहिले टोलीका अधिकांश खेलाडी चोटग्रस्त छन्। त्यसमाथि आठ जना खेलाडी बिरामी भइदिँदा पनि पछिल्लो खेलमा सोचेजस्तो नतिजा हात पार्न नसकेको उनले बताए। ‘एक ड्र र अर्को विनको लागि खेल्ने लक्ष्य थियो। तर, दुवै खेल सोचेजस्तो भएन,’ उनले भने।
कोशीले दोस्रोपल्ट विभागीय टोलीको सामना गर्न लागेको हो। अब एपिएफसँग सामना भने गर्नै बाँकी छ। तर, मुख्य प्रशिक्षक श्याम विभागीय टोलीसँग निकै अतालिएका छन्। भन्छन्, ‘विभागीय टोलीभन्दा पनि हाम्रो लक्ष्य यो भन्दा बाहिरका ६ टोलीसँग पोइन्ट लिने हो। यस्तोमा अब बाँकी चार खेलमा उनको लक्ष्य ६ अंक मात्रै लिने छ।’ यस्तो भए ९ अंक जोडेको कोशीले १५ अंकसहित पहिलो चरण समाप्त गर्नेछ।
अर्कोतर्फ आर्मी लयमा फर्किने लक्ष्यमा छ। एपिएफलाई २-१ को नतिजा सुम्पिएको आर्मीले पुलिससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। त्यसको अघिपछि भएको खेलमा भने आर्मी अपराजित छ।
१० अंकसहित तेस्रो स्थानमा रहेको आर्मीले दोस्रो चरणमा पुग्ने सम्भावना जीवितै देखेको छ। यसै भन्छन् मुख्य प्रशिक्षक चुनबहादुर थापा, ‘अझै चार खेल बाँकी छ। ‘विभागीय टोलीसँग खेल्नुपर्ने सबै खेल सकियो। अब बाहिरका टोलीसँग भएको कारण पोइन्ट टेबुलमा फाइट गर्छौं।’ मंगलबार एपिएफले हारे र कोशीलाई हराउन सके आर्मी शीर्ष स्थानमा उक्लिने छ। यो दुवैमा नतिजा पल्टिए आर्मी चौथो स्थानमा झर्ने छ। तर, चुनबहादुर यस्तो चाहँदैनन्।