काठमाडौं। एन्फा महिला लिगअन्तर्गत मंगलबार विभागीय टोली एपिएफको सामाना गर्दा संकटा फुटबल क्लबलाई जितको दबाब हुनेछ।
लिगको पाँचौं चरणको समाप्तीमा एपिएफ १३ अंक सहित शीर्ष स्थानमा छ। समान खेल खेलेको संकटा भने पाँच अंकसहित सातौं स्थानमा छ। जुन शीर्ष स्थानको एपिएफको भन्दा आठ अंक कम हो।
मुख्य प्रशिक्षक रवीन्द्र शिलाकारले संकटालाई पहिलो सहभागितामै दोस्रो चरणसम्म पुर्याउने लक्ष्य बुनेको थिए। तर, संकटाले त्यस्तो सानदार प्रदर्शन गर्न सकेको छैन। उसले हराएको भनेको कर्णाली प्रदेशलाई मात्रै हो। कोशीसँग गोलरहित बराबरी खेलेको संकटाले चन्द्रपुर नगरपालिकालाई पनि सोही नतिजामा रोक्न सफल भएको थियो।
मंगलबार संकटाले आश्चर्यजनक नतिजा ल्याए आठ अंकसहित लिगको छैटौं स्थानमा उक्लिने छ। तर, पराजित भए सातौं स्थानमा पनि गुमाउनुपर्ने खतरा बढ्ने छ। किनभने यसपछि कर्णालीले सुदूरपश्चिम र बागमतीले वालिङ नगरपालिकासँग खेल्न बाँकी नै छ।
यता, पाँचौं चरणमा पुगेर बल्ल शीर्ष स्थानमा उक्लिएको एपिएफ भने आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ। यो टोलीले पुलिससँग गोलरहित बराबरी खेलेको थियो। त्यसयता भने कुनै निराशाजनक नतिजा सामना गर्नुपरेको छैन।