काठमाडौं। भायला नामुद्दुको ह्याट्रिकसँगै वालिङ नगरपालिकाले एन्फा महिला लिगमा तेस्रो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ ले पराजित गरेको हो।
जितसँगै वालिङले पाँच खेलबाट ९ अंक जोडेको छ। वालिङ तालिकाको पाँचौं स्थानमा छ। सुदूरपश्चिम भने अंकविहीन छ।
वालिङका लागि भायलाले तीन गोल गर्दा ज्याकिलिन नस्साली र सुस्मा तामाङको नाममा समान एक गोल रह्यो। सुदूरपश्चिमकि ऋतिका कार्कीको गोल सान्त्वना रह्यो।
पहिलो हाफमै भायलाले ह्याट्रिक पूरा गरेकी थिइन्। त्यसमा ज्याकिलिनले पनि एक गोल थप्दा पहिलो हाफमा वालिङले ४–० को फराकिलो अग्रता लिएको थियो। चारमध्ये तीन गोल पाँच मिनेटको अन्तरालमा भएको हो। ५०औं मिनेटमा सुस्माले वालिङको लागि गोल गरिन्।
त्यसको १२ मिनेटपछि ऋतिकाले सुदूरपश्चिमका लागि वान भर्सेस वानमा गोल गर्दै खेल ५–१ मा पुर्याइन्। सुदूरपश्चिमले प्रतियोगितामा गरेको हो दोस्रो गल हो। यसअघि बागमती युथ क्लबसँग ५–१ को हार बेहोर्दा तुलसा बोहराले एक गोल फर्काएकी थिइन्।