काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले इटालियन प्रशिक्षक अल्बर्टो भिन्सिन्जो एनिसको उत्तराधिकारी खोज्न सुरु गरेको छ।
साफ च्याम्पियनसिपको ३८ वर्षे लामो इतिहासमा नेपाललाई पहिलोपल्ट फाइनलमा पुर्याएका कुवेती नागरिक अब्दुल्ला अल्मुताइरीसँग तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको विवाद भएको थियो।
नेम्वाङ सत्तामा अध्यक्षका रूपमा फर्किएसँगै अल्मुताइरीलाई हटाएर सन् २०२३ को मार्चमा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमा एनिसलाई ल्याइएको थियो। त्यतिखेर प्रशिक्षकका लागि आवेदन माग्दा १६८ जनाले निवेदन पेश गरेका थिए। जसमध्येबाट पदपूर्ति समितिले २० जनाको नाम सर्टलिस्ट गरेको थियो।
सर्टलिस्टमा भएका एनिसबाहेक कसैले रुचि देखाएका थिएनन्। यसअघि उनीसँग तीन महिला सम्झौता थप गरिएको थियो। तर, नतिजा दिन नसकेको भन्दै भदौको कार्यसमिति बैठकले उनीसँग अब सम्झौता थप नगर्ने निर्णय गर्दै अर्को प्रशिक्षक खोज्न थालेको हो।
आवेदन दिन प्रो लाइसेन्स अनिवार्य हुनुपर्ने एन्फाले जनाएको छ। यस्तै, सिनियर राष्ट्रिय महिला या पुरुष टोलीलाई प्रशिक्षण दिएको अनुभव ५ देखि १० वर्षको हुनुपर्ने जनाएको छ। यस्तै ट्याक रेकर्ड राम्रो भएको पनि हुनुपर्नेछ।
एनेस प्रशिक्षक भएर आएपछि नेपालले थ्री नेसन्स कपमा तीन, साफ च्याम्पियनसिपमा तीन, विश्वकप छनोटमा सात खेल तथा तीन मैत्रीपूर्ण गरी कूल १६ खेल खेलेको छ। जसमा नेपालले जम्मा चार खेल मात्र जितेको थियो। यस्तै, तीन खेल बराबरी खेल्दा १० मा पराजित बेहोरेको थियो।