काठमाडौं। अहिले महिला लिगमा सबैभन्दा बढी चोट कसैलाई छ भने त्यो हो, सुदूरपश्चिम प्रदेशको टोलीलाई नै हो। यो टोली बैशाखमा भएको लिग छनोटसम्म ठिकठाकै थियो।
६ खेलमा खेल्दा एक हार मात्रै बेहोरेको सुदूरपश्चिमले काठमाडौंसम्मको यात्रा तय गर्दा त्यही लय दोहोर्याउला भन्ने आश थियो। तर, संघ र खेलाडीबीच मुठभेडको हुँदा सुदूरपश्चिमलाई लिगका बाँकी खेल कसरी खेल्ने तनाव भइसकेको छ। किनभने यो टोलीले जित त परैको कुरा कुनै टोलीसँग प्रतिस्पर्धात्मक खेल पनि पस्किन सकेको छैन। त्यसैले मुख्य प्रशिक्षक दीपेश योञ्जन लामासमेत ‘टचलाइन’मा उभिन छाडिसकेका छन्।
यस्तो अवस्थामा सुदूरपश्चिमले सोमबार पाँचौं चरणको अन्तिम खेलमा वालिङ नगरपालिकाको सामना गर्नेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ। चार खेलबाट ६ अंक जोडेको वालिङ तालिकाको पाँचौं स्थानमा छ।
यो टोलीले दुई खेल जित्दा दुई खेल गुमाएको छ। शीर्ष पाँचमा रहेको कारण यो स्थान नगुमाउने पक्षमा छन्, मुख्य प्रशिक्षक दिलीप थापा। ‘मैले प्रतियोगिताको सुरु मै भनेको थिएँ, हामी शीर्ष पाँचको लागि फाइट गर्न आएका हौं। हामी पाँचौं स्थानमा छौं। र यही स्थान नगुमाउन खेल्छौं,’ उनले भने।
वालिङले संकटा फुटबल क्लबलाई १-० र कर्णाली प्रदेशलाई ४-० ले पराजित गर्न सफल भएको थियो। विदेशी खेलाडी ल्याएर मजबुत बनिरहेको वालिङका लागि ज्याकिलिन नस्सालीले तीन गोल गरिसकेकी छन् भने सिसे एन्टेङ्गो र सुक्रिया मियाले एक गोल थपेकी छन्। अर्कोतर्फ सुदूरपश्चिम भने गोलको भारी लिएर फर्किने तरखरमा छ।
अंकतालिकाको पुछारमा रहेको टोलीले चार खेलमै ३० गोल खाइसकेको छ। त्यसमा एक गोल मात्रै फर्काउन सफल भएको छ सुदूरपश्चिम। त्यो नि तुलसा बोहराले गोल गर्दै सुदूरपश्चिमको नाक जोगाइदिएकी हुन्। प्रतियोगितामा पुनरागमन गर्न नसक्ने ठानिसकेका मुख्य प्रशिक्षक दीपेश योञ्जन लामाले अब जितभन्दा पनि राम्रो खेल्ने सुनाए।
‘अहिले हाम्रो टोली कुन स्तरको छ भनिराख्न पर्दैन। तर, पछिल्ला खेलमा सुधार भइरहेको छ। त्यसैले जितको लागि भन्दा पनि राम्रो खेल्ने प्रयास गर्छौं।’ उनले वालिङसँग पनि राम्रो खेलको अपेक्षा गरेको तर नतिजाको कुनै अपेक्षा नगरेको सुनाए।