काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई कुनै कुराले चोट दिएको छ भने त्यो हो उसको पछिल्लो समयको लय।
गत वर्ष आइसिसी विश्वकप लिग–२ का पछिल्ला आठ होम म्याच जित्दै इतिहास रचेको नेपाली टोलीले अर्को संस्करण सुरु हुँदा त्यो गर्विलो इतिहास दोहर्याउन सकेन।
गत फागुनमा भएको लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससँग भएको त्रिदेशिय शृंखलाका चारमध्ये तीन खेलमा नेपाल पराजित हुँदा एकमा मात्रै जित हासिल गर्न सकेको थियो। ती तीनमध्ये दुई हार नामिबियासँग थियो भने एक नेदरल्यान्ड्स। त्यही हारले ६ महत्त्वपूर्ण अंक गुमाउँदा नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।
तर, नेपाललाई पुन: आफ्नो लय समात्ने मौका मिलेको छ। त्यसको सुरुआत नेपालले सोमबार क्यानडासँग हुने खेलमार्फत गर्नेछ। किङ सिटीमा हुने खेल बेलुका ७:४५ बजे सुरु हुने छ।
नेपाली राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षक मोन्टी देसाईं गुमेको लय समात्न आतुर रहेको बताउँछन्। उनी भन्छन्, ‘यसअघि घरेलु मैदानमा भएको सिरिजको नतिजाबाट हामी दु:खी छौं। नेदरल्यान्ड्स र नामिबियासँगको सो सिरिजमा हामीले चाहेको जस्तो नतिजा आएन। अब हामीले क्यानडा र अमेरिकामा सिरिज खेल्दैछौं। अब राम्रो नतिजा निकाल्न चाहान्छौं।’
नेपाल र क्यानडाबीच यसअघि तीन एकदिवसीय खेल भएका छन्। जसमा तीन वटै खेलमा नेपालले जित हात पारेको छ। त्यो जित फ्रेबुअरीमा थियो। भ्रमणकारी टोली क्यानडालाई नेपालले सात रन, चार र ९ विकेटले पराजित गर्दै तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको थियो।
नेपाल त्यही लयलाई दोहोर्याउने लक्ष्यमा हुनेछ। क्यानडासँग खेलेपछि नेपालले बुधबार ओमानसँग खेल्नेछ। त्यसको तीन दिनपछि क्यानडा र अन्तिम खेल ओमानसँग खेल्दै क्यानडा भ्रमण अन्त्य गर्नेछ।