काठमाडौं। नेपोलीको नयाँ नायक को हो? भनेर प्रश्न आए खुलेर भन्न सकिने एकै नाम होरोमेलु लुकाकु। किनभने नेपोलीलाई कसैले उद्दार गरिरहेका छन् भने ती हुन् चेल्सीका पूर्वफरवार्ड लुकाकु।
कागिलिरीविरुद्ध आइतबार भएको खेलमा पनि उनले पुन: आफ्नो नायकीपन देखाए। नेपोलीलाई लगातार तेस्रो जित दलाउने क्रममा उनले दुई असिस्ट गर्नुका साथै एक गोल गरे। योसँगै नेपोलीले इटालियन लिगमा कागिलिरीमाथि ४–० को जित निकाल्यो। अर्को खेलमा डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले मोन्जासँग १–१ गोलको बराबरी खेल्दै सिजनको पहिलो हार टार्न सफल भयो।
नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको नेतृत्वमा सन् २०२३ मा लिग उपाधि उचालेको टोलीजस्तो देखिन थालेको छ नेपोली। गत सिजनको समस्याग्रस्त टोलीभन्दा बिलकुलै फरक। त्यस टोलीका एक स्टार भिक्टर ओसिमहेनले अहिले क्लब छाडिसकेका छन्। उनको स्थानमा लुकाकुलाई प्रतिस्थापित गरिएको थियो। र, बेल्जियमका स्ट्राइकर र कोन्टेबीच पुनर्मिलन पनि सम्भव भएको थियो। यो जोडीले २०२१ मा इन्टरमा सिरी ‘ए’ जितेको थियो।
कोन्टेले भने, ‘म रोमेलुलाई चाहन्थें। किनकि हामी एटिपिकल खेलाडीको बारेमा कुरा गरिरहेका छौं। उनी अझै आफ्नो शीर्ष स्तरमा छैनन्। तर, उनी एक खेलाडी हुन् जो हाम्रो लागि आधारभूत बन्नेछन्।’
कोन्टेले आफ्नो पहिलो लिग खेलमा हार बेहोरेपनि नेपोलीले त्यसयता तीनै खेलमा जित हात पारेको छ। त्यसक्रममा नौ गोल गरेको छ भने एक गोल मात्र खाएको छ। लुकाकुले पछिल्लो पटक डेब्यु गर्दै गोल गरेका थिए र आइतबार नेपोलीलाई सुरुआती अग्रता दिलाउन सुन्दर असिस्ट गर्दिए।
१८औं मिनेटमा लुकाकुको पासमा जियोभान्नी डि लोरेन्जोले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। खेलको २५औं मिनेटमा नेपोलीका समर्थकहरूले कागिलिरीको ब्यानरमा आक्रोश पोखेपछि खेल करिब आठ मिनेटका रोकिएको थियो। तर, सार्डिनियामा भएको रोमाञ्चक खेलमा यसले कुनै अवरोध गरेन।
६६औं मिनेटमा लुकाकुको पासमा खभिचा क्वार्त्सखेलियाले गोल गर्दै नेपोलीको अग्रता दोब्बर बनाए। त्यसको चार मिनेटपछि क्वार्त्सखेलियाको पासमा लुकाकुले गोल गर्दै खेल ३–० मा पुर्याए। टोरिनोबाट नेपोलीमा सामेल भएपछि पहिलो गोल गर्न एलेसेन्ड्रो बुओन्जियोर्नोले इन्जुरी समय कुर्नु परेको थियो। उनको गोलसँगै नेपोली ४–० ले विजयी बन्यो।