काठमाडौं। लामिन यमलको दुई गोलसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हासिल गरेको छ।
आइतबार भएको खेलमा बार्सिलोनाले घरेलु टोली गिरोनालाई ४-१ ले पराजित गरेको हो। जितसँगै बार्सिलोनाले पाँच खेलबाट १५ अंक जोडेको छ, जुन दोस्रो स्थानको रियल मड्रिडको भन्दा चार अंक बढि हो।
समान खेलबाट सात अंक जोडेको गिरोना सातौं स्थानमा छ। १० खेलाडीमा सीमित बार्सिलोनाको जितमा यमलबाहेक डानी ओल्मो र पेड्रीले दुई गोल थपे। गिरोनाका लागि क्रिस्टियन स्टुआनीले गरेको गोल सान्त्वना रह्यो।
यमलले ६ मिनेटको अन्तरालमा दुई गोल गर्दै पहिलो हाफमै बार्सिलोनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको दोस्रो मिनेटमा जुल्स कोन्डेको पासमा ओल्मोले अर्को गोल थपे।
६४औं मिनेटमा मार्क कासाडोको पासमा गोल गर्दै पेड्रीले बार्सिलोनाको अग्रता ४-१ मा पुर्याए। तर, निर्धारित खेल सकिन १० मिनेट बाँकी रहँदा स्टुआनीले घरेलु टोलीका लागि एक गोल गरे। ८६औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो। उसका फेरान टोरेसले सीधै रातो कार्ड पाए।