काठमाडौं। शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक भोलानाथ सिलवाल पनि मान्छन् कि अब एन्फा महिला लिग जित्ने नजित्ने एफिएफको नतिजाले मात्रै निर्णाय गर्नेछ। किनभने शीर्ष स्थानमा रहेको पुलिससँग एक खेल कम खेलेको एपिएफको दुई अंक मात्रै छ।
अर्कोतर्फ एपिएफले आर्मीलाई २-१ ले हराउँदा पुलिससँग बराबरी खेल्दै महत्त्वपूर्ण चार अंक जोडिसकेको छ। तर, पुलिसले भने शुक्रबार आर्मीसँग पनि १-१ को बराबरी खेलेको छ। यस्तो अवस्थामा भोलाले भनेझै एपिएफलाई आफ्नो उपाधि यात्रा बलियो बनाउन र शीर्ष स्थानमा पहिलोपल्ट पुग्ने मौका छ। र, एपिएफले आइतबारको खेलमार्फत नै यो सम्भव बनाउन सक्छ। आइतबार हुने पहिलो खेलमा एपिएफले कर्णालीको सामना गर्नेछ। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १२:३० बजे हुनेछ।
एपिएफले अघिल्लो खेलमा वालिङ नगरपालिकासँगको खेलमा २-१ को संघर्षपूर्ण जित निकालेको थियो। यो खेलमा एपिएफको मिडफिल्ड चल्न सकेको थिएन। त्यसैले कर्णालीविरुद्ध सुधार गरेर उत्रिने योजना छिन् कप्तान रेनुका नगरकोटी। उनी भनेकी थिइन्, ‘हरेक खेल अब महत्त्वपूर्ण छ। एपिएफले जुन खेल खेल्नुपर्ने थियो, त्यस्तो खेल देखाउन सकेन। अब सुधार गरेर आउँछौं।’
मुख्य स्ट्राइकर सावित्रा भण्डारीको अभाव खड्किरहेको टोलीलाई रेनुका र रश्मीकुमारी घिसिङको बलियो साथ छ। रेनुकाले जारी लिगमा तीन गोल गरेकी छन्। रश्मी, साविता रानामगर र गीता रानामगरले पनि समान दुई गोल गरेका छन्।
यता, कर्णाली भने जारी लिगमा चार खेल सकिँदा पनि लय समात्न सकेको छैन। जम्मा एक अंक जोडेको कर्णालीले तीन खेलमा हार बेहोरेको छ। प्रतियोगितामा कुनै पनि जित हासिल गर्न नसक्ने कर्णाली दोस्रो टोली हो। कर्णालीसँगै सुदूरपश्चिमले पनि जारी लिगमा जित हासिल गर्न सकेको छैन।