काठमाडौं। लिओनल मेसीले दुई गोलप्रेरित इन्टर मियामीले आइतबार बिहान फिलाडेल्फिया युनियनमाथि ३–१ को जित निकालेको छ।
अर्जेन्टिनाका स्टार विंगर तथा आठ पटकका बालोन डी'ओर विजेता मेसीलाई गत जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १–० ले हराउँदा खुट्टामा चोट लागेको थियो। त्यसयता उनी मियामीको टोलीमा परेका थिएनन्।
मियामीका प्रशिक्षक गेरार्डो टाटा मार्टिनोले भने, ‘उनले खेल समाप्त गरे र ९० मिनेट पूरा गरे। उनलाई पनि राम्रो लाग्यो।’ तीन साताअघि अभ्यास सुरु गरेका मेसीले आफ्नो प्रदर्शनबाट चोटका कारण कुनै किसिमको फरक नपरेको बताए। उनले पहिलो हाफको मध्यतिर चार मिनेटको अन्तरालमा दुई गोल गरेका थिए।
खेलको दुई मिनेटमै युनियनका फरवार्ड मिकाएल उहरेले गोल गर्दै घरेलु दर्शकलाई स्तब्ध पारेका थिए। तर, २६ औं मिनेटमा मेसीले पहिलो गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। सुआरेजको पासमा मेसीले गोल गरेका थिए। त्यसको चार मिनेटपछि मेसीले डिबक्सभित्र क्रसिङ पासमा अर्को गोल थपे।
मेसीबिना मियामीले एमएलएस प्लेअफमा स्थान पक्का गरेको थियो। मियामीका मिडफिल्डर जुलियन ग्रेसेलले भने, ‘उनको चोट निको भएको र उनी पहिलेजस्तै प्रभावकारी भएको देख्दा खुसी लागेको छ।’
लुइस सुआरेजले दोस्रो हाफको इन्जुरी समयमा मेसीको असिस्टमा गोल गर्दै मियामीलाई जित दिलाएका थिए। सुआरेजको यो सिजनको १७ औं गोल हो।